ट्रम्पको मानसिक सन्तुलन गुमेको किमको टिप्पणी

By | September 22, 2017

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपतिको असामान्य व्यवहारले आणविक हतियार बनाउने आफ्नो कदम सही भएको पुष्टी भएको बताउनुभएको छ । नेता किमले विज्ञप्ति जारी गर्दै उत्तर कोरियालाई ध्वस्त पार्ने भनी संयुक्त राष्ट्रसंघीय महासभामा चेतावनी दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसको ठूलो मुल्य चुकाउनुपर्ने समेत उल्लेख गर्नुभएको छ ।

किमले ट्रम्पको मानसिक सन्तुलन गुमेको समेत टिप्पणी गर्नुभएको छ । किमले विज्ञप्ति जारी गर्नुलाई दुलर्भ मानिन्छ । किमले विज्ञप्ति जारी गरेलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै किमले कहिल्यै नभोगेको परीक्षाको सामना गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

यसअघि, ट्रम्पले राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै अमेरिका प्रतिरक्षामा उत्रनु परे उत्तर कोरियालाई नष्ट पार्नसक्ने चेतावनी दिनुभएको थियो । ट्रम्पले उत्तर विरुद्ध थप आर्थिक प्रतिबन्ध समेत लगाउने बताउनुभएको थियो ।

पछिल्लो समय उत्तरको परमाणु हतियारका विषयलाई लिएर दुई राष्ट्रका प्रमुखबीच आरोपप्रत्यारोप चुलिएको छ । चीनले भने अवस्था जटिल र संबेदनशील भएको भन्दै वाकयुद्ध बन्द गर्न चेतावनी दिएको छ । दुई मुलुकबीच लामो समयदेखि वाकयुद्ध चलिरहेको छ ।