पाकिस्तानी सेनाको गोली लागी एक नेपाली गोर्खा सैनिकको मृत्यु

By | September 22, 2017

कश्मीरमा बगेको नेपाली रगत

तीनजना गोर्खा सैनिक भारत अधिकृत कश्मीरमा गतहप्ता मारिएको समाचार सुन्दा उनीहरूका परिवारजन मात्रै होइन सबै नेपाली मर्माहत भएको हुनुपर्छ। गुल्मी भुर्तुङका डम्बरबहादुर पुन, कास्की मिजुरेडाँडाका गिरीश गुरुङ र पर्वत चुवाका रविन शर्मा कश्मीरको स्वशासनका लागि लडिरहेका योद्धाको निशानामा परेका हुन्। यी तीनै जना ४० भन्दा कम उमेरका र रविन त मात्रै २४ वर्षका र गत माघमा यहीँ हेमजाकी युवतीसँग विवाह गरेका रहेछन्।

नेपाली अखबारका पृष्ठ (चाहे त्यो भित्री होस् वा बाहिरी) मा प्रकाशित यो दुःखद समाचार र यही पोखरा शहरको राष्ट्रबैंकचोक भन्दा केही उत्तरको चोकैजस्तो छ सडक डिभिजन कार्यालय अगाडि फेरि होर्र्डिङबोर्ड टाँसिएको छ ‘भारतीय गोरखा पल्टनमा नयाँ भर्ना खुलेको’ सूचना। त्यहाँ छनौटको प्रतिस्पर्धामा तँछाडमछाड गरिरहेका पश्चिमाञ्चल क्षेत्रकै युवाहरूको भीड देख्दा एउटा विचारको अन्तरद्वन्द्व उत्पन्न हुन्छ।

त्यसो त अरबमा काम गर्न गएका नेपाली मरेका हजारौ बाकस शव प्रति वर्ष आउँछन्। अनि यो पनि मनमा खेल्छ अरबमा मर्नेका परिवारभन्दा कश्मीरका मुक्तियोद्धा संगको मुठभेडमा मारिएका गोर्खाहरूको परिवारले धेरै आर्थिक लाभ पाउँछन्।

कश्मीरमा मारिनु नै राम्रो भएन र ? प्रश्नको सोझो जवाफ त रोजगारीको बाध्यताले विदेशिनु पर्ने नेपाली नियतिको अन्त्य हुनुपर्छ। तर, आजको भूमण्डलीकरणको युगमा सबै देशका नागरिकहरू विश्वबजारमा विचरण गरेको छन्। नेपाल मात्रै यस अर्थमा अपवाद हुन सक्दैन। मुख्यकुरा हो व्यक्तिको उच्चदक्षता र कामको प्रकृति।

तर, विदेशीको सेनामा भर्ति भई भाडाको सेनाको रुपमा काम गर्ने कुरा बहुआयामिक अर्थको छ। गोरखा भर्तिसंग जोडिएको कुरा फगत वैयक्तिक रोजगारी वा आर्थिक लाभसँग मात्रै सीमित छैन। यो जोडिएको छ सिधँै नेपाली राष्ट्रियता, स्वाभिमान र हाम्रो घोषित सहअस्तितको तटस्थ वैदेशिक सम्बन्धको नीतिसंग।

भारत-चीन वा भारत-पाकिस्तानबीच भारतको तर्फबाट लड्ने सैनिक नेपालीहरू रहँदा चीन वा पाकिस्तानसं’गको नेपाली सम्बन्ध कसरी परिभाषित हुने ?

अनि, आफ्नो स्वशासन, धर्म संस्कृति र राष्ट्रिय मुक्तिको लागि संघर्षरत जनसमूहको निर्मम दमन र नृशंस हत्याको खातिर नेपाली नागरिक (भलै ती भारतीय सैनिक किन नहुन्) को प्रयोगले अन्तराष्ट्रमा प्रवाह गर्ने मानवता विरुद्धको संदेशको मूल्य के हुने ? चाहे ती लद्दाख वा कारगिल वा जम्मु काश्मीरको अन्य कुनै भागमा किन नहोस्।

‘पानीभन्दा रगत बाक्लो हुन्छ’ यो उखानको प्रचलन अंग्रेजी भाषामा धेरै हुनाले आयातीत जस्तो लाग्छ हामीलाई। तर, सत्य होइन। यो कुरा त शाक्यमुनी बुद्धले इशापूर्व चौथो शताब्दीमै भनेका हुन्।

तत्कालीन शाक्यराज्य र कोलिय राज्यको सीमा नदीको रुपमा रहेको रोहिणी नदीको पानीको बाँडफाँड भागवण्डाको लागि लडार्इँ गर्न कस्सिएका यी दुर्इ देशका राजा र सेनालाई संझाउदा बुद्धले प्रयोग गरेका छन् -पानीको मूल्य हुन्छ तर रगतको मूल्य छैन, यो अनमोल छ भन्ने कुरा। बुद्धले यो पनि भने कि ‘बेसारको लागि सारलाई नगुमाउ।’

कश्मीरमा बगेको नेपाली रगतको मूल्य के हो ? डम्बर, गिरीश र रविनको जीवनसार के हो ? अनमोल छ। यो रगत बगाईमा नेपाली राष्ट्रिय स्वार्थ नजोडिएको मात्रै होइन, कतै कलंकित त गर्दैन ? समग्र नेपाली समाज र सरकारले सोचनुपर्छ।

विभेदको भारतीय नीति र निरीह हाम्रो सरकार

कुनै भारतीय नागरिक जो सैनिक सेवामा छ ऊ कश्मीर द्वन्द्वमा मारियो भने उसलाई शहीद घोषण गरिन्छ, उसको घरमा पुर्‍याइन्छ, मृतकको परिवारजनका साथ मलामी जम्मा हुन्छन्, राजकीय सम्मानका साथ अन्त्येष्टि गरिन्छ। तर, त्यही पल्टनको नेपाली मारिँदा उसको शव नेपाल पठाएर उसको परिवारजनलाई दिइदैन। कुनै सम्मान छैन।

भारत मै सद्गत गरिन्छ। यो अमानवीय भेदको व्यवहार छ भारतीय सरकारको। नेपाल सरकारको निरीहता यसमा सहजै देख्न सकिन्छ। आफ्ना नागरिकको विदेशी सरकारले गरेको यो अपमानजन्य व्यवहार प्रति हाम्रो सरकार बेखवर छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रो व्यवस्थापिका संसदमा तुकबन्दी मिलाएर ‘पानी र जवानी पहाडमा बस्दैन’ भन्दा नेपालमा रहेको भारतीय रणनीतिक स्वार्थलाई राम्रैसँग प्रबर्द्धन गरेको कुरा तत्काल कमै नेपालीले बुझेका हांै।

उनको भनाइको निहितार्थ यो रहेको छ कि हिमालबाट निःसृत जल बगेर समथल भारतमा आउने हो र पहाडका युवक कामको खोजीमा भारतै आउने हुन्। यी दुवैमा भारतको हक रहन्छ। ‘भारतका पक्षमा भएका सबै लर्डाईमा नेपाली रगत बगेको छ’ भन्ने उनको कुरा पनि प्रतीकात्मक छ।

नेपालीको भूमिमा बाँध बाँधेर भारतीय भूमि सिँचाइ गरिएका नेपाली नदी कोशी, गण्डकी र टनकपुरको योगदान भारतको आर्थिक सम्बृद्धिका मुख्य आधारशीला बनेका छन्। चुरेभावर क्षेत्रको प्राकृतिक सम्पदामा भएको अत्यधिक तर अवैध रुपमा गरिएको भारतीय दोहनले हाम्रो तराईको मरुभूमीकरण नजिक आएको छ।

तथ्यांकले के देखएको छ भने भारतमा गएर रोजगारी गर्ने नेपालीले कमाई गरेर नेपाल ल्याउने धनराशिभन्दा कैँयौ गुना बढी नेपाल आई काम गर्ने भारतीयले नेपालबाट धनराशि -रेमिट्यान्स) भारत लैजान्छन्। तर नेपाललाई ठूलो सहयोग गरेका छौँ भन्ने भारतीयहरूका कुरा बिकाउँछन् अन्तर्राष्ट्रिय जगतमा। र, नेपाली मानसिकतामा पनि यही छाप छ।

तर, अब नेपाली नदी सित्तैमा दिने र भारतीय सुरक्षाबलको लागि सस्तो युवाशक्ति उपलब्ध गराउने काम नेपालले गर्नु हुँदैन। नेपाल भारत सम्बन्धका आयामहरूको पुनरावलोकनमा यो विषय पनि समावेश गर्ने बेला आएको छ। सम्बन्धका आधारको अद्यावधिकतामा समान र स्वस्थ सम्बन्धका आधार यी पक्ष पनि हुन्।

झण्डै डेढ अरब जनसंख्या भएको भारत आफ्ना सेनामा भर्ति हुने युवा नभएर वा नेपाली युवा बेरोजगार छन् रोजगारी दिऊँ भन्ने मायाले नेपाली युवा खोज्न नेपाल पसेको होइन। आफ्नो प्रभुत्व कायम गर्ने खतरनाक र संवेदनशील युद्धमोर्चामा गोर्खाली प्रयोगको लागि हो।

गोरखा भर्तिको कुरा

सन् १८१६ मा भारतमा राजगरेको अंग्रेज सरकार र नेपाल सरकारबीच सम्पन्न सुगौली सन्धिले दुर्इवटा कलंकित परिणाम ल्यायो। एउटा हो , नेपालको आन्तरिक राष्ट्रिय जीवनमा औपनिवेशिक शक्तिको प्रवेश र प्रभावले नेपाल एक किसिमले अर्धउपनिवेश बन्यो।

अर्काे हो, नेपाली नौजवानलाई फकाई लोभमा फसाई अंग्रेज सेनामा भर्ति गर्ने काम गर्‍यो अंग्रेज साम्राज्यवादी सरकारले। त्यसैले गोर्खा भर्ति पनि सुगौली सन्धिकै सह उत्पादन हो। यो नेपाली राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विरोधी कुरा हो।

२००६ सालमा नेपाल कम्युनिष्ट पार्टीस्थापना हुँदा जारी घोषणपत्रमा गोर्खा भर्तिलाई राष्ट्रिय कलंकको रुपमा परिभाषित गरेको छ। गोर्खा भर्ति केन्द्र बन्द गर भन्ने माग विद्यार्थी आन्दोलनको एउटा एजेण्डा नै रहन्थ्यो। तर, अहिले आफूलाई कम्युनिष्ट हौँ भन्नेहरूको प्रतिनिधित्व संसद्मा ६० प्रतिशतभन्दा बढी र छ र कम्युनिष्ट हौ भन्ने नै सरकारमा भएपछि भने यो विषय नेपालको राजनीतिक साहित्यबाट बिलुप्त प्रायः भएको छ।

बेलायतले आफ्नो सेनामा गोरखाको संख्या निकै कटौती गर्‍यो। यो आफ्नो साम्राज्य समाप्त भएकोले हो। तर, कोही पनि नेपाली नाङ्गै र भोकै छैन, संख्या कटौतीले। वैकल्पिक तर सम्मानजक व्यवसायमा नेपाली छन्।

भारतको भर्तिबन्द भए पनि हामी बेरोजगार रहँदैनौ। धेरै वैकल्पिक सम्भावना छन् हाम्रा सामु। त्यसैले कश्मीरमा बगेको नेपाली रगतले यही भन्छ-घृणित गोरखा भर्ति बन्द गर झ् यसको मूल्य र सन्देश यही हो।

सक्दो सेयर गरौँ र नेपाली युवालाइ सम्झाउन (गोर्खा भर्ति बन्द गर)